अमेरिकाको टेक्सासमा भीषण बाढी, २४ जनाको मृत्यु, आपतकाल घोषणा
विराटनगर । अमेरिकाको टेक्सास राज्यमा शुक्रबार राति भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण हालसम्म २४ जनाको ज्यान गएको छ भने २५ जना अझै बेपत्ता रहेको बिबिसीले जनाएको छ।
बाढीबाट सबैभन्दा बढी क्षति टेक्सासको केर काउन्टी क्षेत्रमा भएको बताइएको छ। गभर्नर ग्रेग अब्बटले उद्धृत गर्दै बिबिसीले जनाएअनुसार बाढीग्रस्त क्षेत्रमा रातभर उद्धार कार्य जारी राखिएको छ। बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन समेत परिचालन गरिएको छ।
गर्मी यामका लागि सञ्चालनमा रहेका विभिन्न विद्यार्थी शिविरहरूमध्ये ‘क्याम्प मिस्टिक’ मा मात्रै ७०० जना छात्रा सहभागी थिए। उनीहरूमध्ये धेरैको सुरक्षित उद्धार भइसकेको जनाइएको छ।
बाढीपछि अहिलेसम्म २३७ जनाको उद्धार गरिएको छ। उक्त क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह ७.९ मिटर पुगेपछि अवस्था भयावह बनेको थियो।
गभर्नर अब्बटले राज्यभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। क्षतिको विवरण अझै संकलन भइरहेको हुँदा मृतक र बेपत्ताको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीले घर, सडक, पुल तथा सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ। टेक्सासको मौसम विभागले आगामी दिनमा अझै भारी वर्षा हुन सक्ने पूर्वानुमानसमेत गरेको छ।