काठमाडौं महानगरका मेयर बालेनविरुद्ध युवा संघ नेपालद्वारा साइबर ब्युरोमा उजुरी

विराटनगर । नेकपा एमाले निकट संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता विरुद्ध खलल पुर्‍याएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।

थेबेले भने, “नेपालको स्वाधीनता र राष्ट्रिय मर्यादामाथि आँच आउने गरी आपत्तिजनक शब्द प्रयोग गरिएको छ, त्यसकारण कानूनी कारबाहीको माग गर्दै हामीले उजुरी दिएका हौं।”

मेयर शाहले शनिबार मध्यराति सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरी दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै स्टाटस लेखेका थिए ।

उक्त स्टाटसले व्यापक आलोचना भएसँगै शाहले केहीबेरमै आफ्नो वालबाट पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभरि भाइरल बनेको थियो ।

युवा संघका उपाध्यक्ष महराज गुरुङलगायतका नेताहरू साइबर ब्युरो पुगेर मेयर शाहमाथि कारबाहीको माग गरेका हुन् ।

साइबर ब्युरोका एक अधिकारीले शाहविरुद्ध उजुरी परेको पुष्टि गर्दै भने, “हामीले उजुरी प्राप्त गरेका छौं, तर अहिले दर्ता प्रक्रिया चलिरहेको छ ।”

ब्युरोले अब कानूनी प्रक्रिया अनुसार उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ ।

Add a Comment