क्रिकेटर ललित राजवंशीको आमाको निधन
बिराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशी आमावियोगमा परेका छन्। आइतबार बिहान विराटनगर–१४ जतुवास्थित आफ्नै निवासमा उनकी आमा ६० वर्षीया शुभकुमारी (शुभो) राजवंशीको निधन भएको हो।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार, शुभकुमारी लामो समयदेखि दम र फोक्सोको रोगबाट पीडित थिइन्।
छिमेकी राजकुमार विश्वासका भनाइअनुसार, शनिबार राति औषधि सेवन गरी सुत्न गएकी शुभकुमारीलाई आइतबार बिहान छोरी सुमन राजवंशीले उठाउन खोज्दा मृत्यु भएको थाहा भएको हो। त्यसपछि परिवारका अन्य सदस्यलाई जानकारी गराइएको थियो।
उनीहरूको अन्तिम संस्कार आजै सिंघीया खोलामा विधिपूर्वक सम्पन्न गरिनेछ। ललित राजवंशी अन्त्येष्टीमा सहभागी हुन घर फर्किसकेका छन्।
मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइला छोरा रामकिशोर राजवंशी, कान्छा छोरा ललित नारायण राजवंशी र एक छोरी सुमन राजवंशी रहेका छन्।