मधेस प्रदेशमा धान रोपाइँ ७७ प्रतिशत मात्र, उत्पादनमा २७ प्रतिशत कमीको अनुमान

विराटनगर । खडेरीको प्रभावका कारण मधेस प्रदेशका आठ जिल्लामा यस वर्ष धान रोपाइँ सुस्त गति भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार हालसम्म करिब ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको छ।

प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको हो। पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल बढेको यादवले बताए। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोसी, सर्लाही र रौतहटमा वाग्मती नदीबाट सिँचाइ उपलब्ध हुँदा केही सहजता भएको भए पनि धनुषामा कमला नदी सुक्दा किसानहरू समस्यामा परेका छन्।

यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशतसम्म गिरावट आउने निर्देशक यादवको अनुमान छ।

सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, प्रदेश सरकारले यसका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि रकम पर्याप्त नभएकाले संघीय सरकारको सहयोगको पर्खाइमा रहेको छ।

Add a Comment