August 15, 2025
मदन भण्डारी लोकमार्गमा बाढीले बुबा–छोरी बगायो, छोरी बेपत्ता
विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत दुध खोलामा आएको बाढीले मोटरसाइकलसहित बुबा–छोरीलाई बगाउँदा छोरी बेपत्ता भएकी छन् भने उनका बुबा सिकिस्त घाइते भएका छन्।
शुक्रबार दिउँसो उदयपुरबाट चतरातर्फ आउँदै गर्दा धरान–१६ का ४३ वर्षीय जीवन राई र उनकी १९ वर्षीया छोरी अनिता राई बाढीको बहावमा परेको प्रहरीले जनाएको छ।
घटनामा अनिता राई बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी जारी राखेको छ।
जीवन राईलाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।