सुनसरी–मोरङमा गाँजा सहित ८ जना पक्राउ

विराटनगर।सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले भदौ १ गते धरान उप-महानगरपालिका–२० स्थित जंगलबाट ७२ किलोग्राम गाँजा बरामद गरेको हो। सो क्रममा धरान–२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३४ वर्षीय प्रदिप राई र धरान–१३ का ३१ वर्षीय सन्तोष राई पक्राउ परेका छन्।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले उर्लावारी नगरपालिका–९ मा चेकजाँच गर्ने क्रममा बा.३ च ७९८१ नम्बरको कार र बा.७८ प ४०९८ नम्बरको मोटरसाइकल सहित तीन जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, उर्लावारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लावारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ लिम्बु रहेका छन्। उनीहरूको साथबाट ग्यालेनमा लुकाइ राखिएको ५ लिटर कोरेक्स र १५० थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय देवानगंज, सुनसरीले देवानगंज गाउँपालिका–६ स्थित बुढी खोलाबाट बेवारिसे अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद गरिएका सबै लागू औषध तथा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Add a Comment