झापामा करेन्ट लागेर मृत्युनहुनेको संख्या बढ्दै

विराटनगर । झापामा विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार महिनामै १० जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएकै कारण ग्रामीण क्षेत्रमा यस्तो दुर्घटना बढी हुने गरेको छ। “मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा करेन्ट लाग्ने घटना बढी भएका छन्,” उनले बताए।

अर्थिक वर्ष २०८१/८२ मा मात्र करेन्ट लागेर १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विद्युत् प्रयोगबारे अपूर्ण ज्ञान र सतर्कताको कमी मुख्य कारण देखिएको छ।

यसैबीच, सोमबार (भदौ २) साँझ मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ। घरमा बिग्रिएको टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागी अचेत भएका उनलाई उपचारका लागि मेची आम्दा अस्पताल, धुलाबारी लगिएको थियो। उपचारका क्रममा राति उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीले विद्युत् प्रयोग गर्दा सतर्कता अपनाउन, प्राविधिक ज्ञान बिना काम नगर्न र आवश्यक परे विद्युत प्राविधिकको सहयोग लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Add a Comment