विराटनगरमा श्री राणी सती महोत्सव सम्पन्न
विराटनगर ।विराटनगरमा दुई दिने श्री राणी सती महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सव शुक्रबार र शनिबार विराटनगरको अतिथि सदनमा आयोजना गरिएको हो।
श्री राणी सती महोत्सव आयोजक समितिका अनुसार महोत्सवमा ३ हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो। अवलोकन गर्नेमा महिलाको सहभागिता उल्लेख्य देखिएको थियो।
महोत्सवको शुभारम्भ शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए। कार्यक्रममा विराटनगरका समाजसेवी एवं धार्मिक व्यक्तित्व देवकिनन्दन अग्रवाल, श्रवण अग्रवाल, राजकुमार अग्रवाल, गोविन्द झुनझुनवाला, अशोक झुनझुनवाला, सुधिर तोदी, गोपाल अग्रवाल, आशिष जटिया, श्याम सराबगी, सञ्जय अग्रवाल, बालकृष्ण देवडा, गोपालकृष्ण अग्रवाललगायत मारवाडी समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूको सक्रिय सहयोग रहेको थियो।
भदौ औँसीको अवसर पारेर आयोजना गरिएको महोत्सवमा पहिलो दिन मेहन्दी उत्सव, चुरा उत्सव र भजन–कीर्तन भएको थियो। नेपाल र भारतका भजन टोलीहरूले भक्तिमय प्रस्तुति दिएका थिए। दोस्रो दिन शनिबार सामूहिक मंगलपाठ, गजरा उत्सव, महाआरती र महाप्रसादको आयोजना गरी महोत्सव सम्पन्न गरिएको हो।