दर खाने दिनसँगै तीजको रौनक सुरु

विराटनगर।हरितालिका तीजको अघिल्लो दिन मानिने दर खाने दिन सोमबार देशभर धूमधामका साथ मनाइँदैछ। परिवार, इष्टमित्र र छिमेकी भेला भई विभिन्न परिकार बनाएर खाने, रमाइलो गर्ने चलन यस दिनसँग जोडिएको छ।

तीजको मुख्य दिनमा महिलाले निराहार व्रत बसेर भगवान शिवको पूजा गर्ने भएकाले त्यसको आडका लागि अघिल्लो दिन पौष्टिक खानेकुरा खाने परम्परा रहिआएको हो।

तीज पर्व चार दिनसम्म मनाइन्छ। पहिलो दिन दर खाने, दोस्रो दिन निराहार व्रत बसेर शिवपूजा गर्ने, तेस्रो दिन गणेश चौथी र अन्तिम दिन सप्तऋषि पूजाआराधना गरी पर्व समापन गर्ने परम्परा रहेको छ।

यद्यपि परम्परागत रूपमा एक दिन मात्र दर खाने चलन भए पनि हाल काठमाडौंसहितका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै विभिन्न संघ–संस्था र कार्यालयहरूले तीज मिलन कार्यक्रमका रूपमा दर खाने र खुवाउने चलन बढेको छ।

विश्वास अनुसार देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउन निराहार व्रत बसेर साधना गरेकी थिइन्। त्यसैको स्मरणमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वर पाउन तीजमा व्रत बस्ने गर्छन्।

तीजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाको भीड लाग्ने गर्दछ। पूजा–आजा पछि भेला भएर तीजका गीत गाउने, नाच्ने र उल्लासपूर्वक पर्व मनाउने परम्परा रहेको छ।

Add a Comment