आज हरितालिका तीज महिलाहरुले धुमधामका साथ मनाउँदै

विराटनगर । भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज पर्व आज देशभरका हिन्दु महिलाले देवादिदेव महादेवको पूजा–आराधना गरी धूमधामसाथ मनाइरहेका छन्।

यस दिन महिलाहरूले भगवान् शिवको पूजा गरेर अटल सौभाग्य, दीर्घ आयु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ। हिजोको दर खाएको भरमा आज निराहार र निर्जल व्रत बस्ने प्रचलन रहेको छ। जनविश्वास अनुसार पार्वतीले भगवान् शिवलाई वरका रूपमा प्राप्त गर्ने कामना गर्दै तीजको व्रत बस्न थालेपछि यो पर्वको परम्परा चलेको हो।

तीजमा विवाहित महिलाले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्ने, अविवाहित महिलाले चाहिँ मनपर्ने वर पाउने विश्वास गरिन्छ। आजको दिन महिलाहरू रातो पोशाकमा सजिएर शिवालय र शिवमन्दिरमा पूजा–आराधनाका लागि बिहानैदेखि लामबद्ध हुने गर्छन्।

विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहानैदेखि तीजको अवसरमा महिलाको बाक्लो उपस्थिति देखिएको छ। नाचगान र सांस्कृतिक कार्यक्रमसहित तीज उल्लासमय वातावरणमा मनाइँदैछ।

सरकारले तीज पर्वको अवसरमा आज महिला कर्मचारीलाई मात्र बिदा दिएको छ।