गणेश चतुर्थी पर्व देशभर पूजा–आराधनासहित मनाइँदै

विराटनगर । भगवान् गणेशको पूजा–आराधना गरी आज गणेश चतुर्थी पर्व देशभर मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।

शास्त्रीय मान्यतानुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीकै दिन भगवान् गणेशको जन्म भएको थियो। यही अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरेर गणेश जन्मोत्सव मनाइँदै छ।

शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज हरितालिका (तीज) व्रतको पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता छ।

भाद्र शुक्ल तृतीयाका दिन व्रतालुले सुखद् दाम्पत्य जीवन र सुख–शान्तिको कामना गर्ने र चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भन्ने हेतुले गणेश पूजा गर्ने विधान रहेको गणेश पुराणमा उल्लेख छ।

धर्मशास्त्रविद् गौतमका अनुसार बिहान हरितालिका (तीज) व्रतको समापनका लागि पारायण गरी मध्याह्नमा गणेशको पूजा–आराधना गरेर अर्ध्य दिने परम्परा छ।

Add a Comment