राष्ट्रिय पार्टी मुक्ति नेपालले नयाँ मिशनसहित संघर्षको तयारी
विराटनगर ।राष्ट्रिय पार्टी मुक्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले देशमा नयाँ मिशनसहित क्रान्ति अघि बढाउने घोषणा गरेका छन्। सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको २८० वर्षे इतिहासमा थुप्रै आन्दोलन भए पनि मुलुकले अझै अपेक्षित रुपले परिवर्तन गर्न नसकेको बताए।
उनका अनुसार देश बन्न नसक्नुको कारण सबैलाई एउटै ढाँचामा बाध्न खोज्नु हो। उनले भने, “नेपाल बहुपहिचान र विविधताले बनेको देश हो। तर शासकले एउटै बनाउन खोज्दा देश पछाडि परेको छ।”
महतोले विगतमा जनताले पटक–पटक संघर्ष गरेर पनि सपना अधुरो रहेको उल्लेख गर्दै लोकतन्त्रमा पार्टीहरूले जनतालाई विश्वासघात गरेको आरोप लगाए। उनले भने, “जनताले विश्वास गर्नु अपराध होइन, घात गर्नु अपराध हो। लोकतन्त्रमा पार्टी र नेताहरूले विश्वासघात गरे, त्यसैले सपना अधुरो रह्यो।”
कार्यक्रममा उनले संघीयता, प्रदेश सिमाङ्कन र वर्तमान शासनप्रति असन्तोष प्रकट गर्दै देश ‘लुटतन्त्र’ को मारमा परेको बताए। “कांग्रेस, एमाले, माओवादी रक्षक नभई भक्षक बनेका छन्। त्यसैले युवाहरू विदेश पलायन हुन बाध्य छन्,” उनले भने।
महतोले आफूले ३५ वर्षदेखि अधिकार र पहिचानका लागि सडकदेखि सदनसम्म संघर्ष गर्दै आएको स्मरण गराउँदै संसदमा देश बेचुवाहरूलाई चुनौती दिएको उल्लेख गरे। “उपप्रधानमन्त्रीसम्म भएँ तर कुर्सीभन्दा माथि पुग्न पाइनँ। तर अझै पनि अधिकार पहिचान र राष्ट्रियताका पक्षमा आवाज उठाइरहेको छु,” उनले भने।
कार्यक्रममा जिल्ला समिति अध्यक्ष सत्यनारायण साहले अध्यक्षता गरेका थिए भने महासचिव सन्तोष मेहताको पनि उपस्थिति रहेको थियो।