विराटनगरमा लुटिएको सामान फिर्ता ल्याउने अभियान सुरु

विराटनगर। जेन–जी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीपछि लुटिएका सामान फिर्ता ल्याउने अभियान सुरु भएको छ।

सामाजिक अभियन्ता पारुल क्षेत्रीको अगुवाइमा २०–२५ जनाको युवा स्वयंसेवी समूहले घर–घरबाट लुटपाटका सामग्री संकलन गरी सुपरमार्केटमा बुझाउने कार्यलाई निरन्तरता दिएको छ।

केही दिनअघि भएको आन्दोलनको मौका छोपी सयौँ व्यक्तिहरूले खाद्यान्न, कपडा, इलेक्ट्रोनिक उपकरणलगायत करोडौँ मूल्य बराबरका सामान लुटेका थिए। उक्त घटनाले विराटनगरको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको थियो।

क्षेत्रीले भनेकी छन् – “जिम्मेवार नागरिकहरूले दिएका गोप्य सूचनाका आधारमा हामी विभिन्न स्थानमा पुगेर सामान फिर्ता गरिरहेका छौँ। लुटिएका सामान स्वेच्छाले फिर्ता नगर्नेहरूले कानुनी कारबाही भोग्नुपर्नेछ।”

आइतबार मात्र समूहले विराटनगरका पाँच स्थानबाट लुटिएका सामग्री संकलन गरी भाटभटेनी सुपरमार्केटमा बुझाएको छ। अभियानले सामान फिर्ता गराउनुका साथै लुटपाटमा संलग्नलाई कडा चेतावनीसमेत दिएको छ।

क्षेत्रीले व्यापारीहरूलाई लुटिएका सामान किनबेच नगर्न आग्रह गर्दै कुनै शंका लागे तत्काल प्रहरीलाई जानकारी दिन अनुरोध गरेकी छन्।

नागरिक स्तरबाट सुरु भएको यो अभियानले अराजकता रोक्न र सामाजिक जिम्मेवारीलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ।