प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनका घाइतेलाई भेटिन्
विराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवाहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीका अनुसार आज अपराह्न प्रधानमन्त्री कार्कीले अस्पतालमा पुगेर उपचाररत घाइतेहरूसँग स्वास्थ्य अवस्थाबारे बुझ्नुभएको हो।
डा. रेग्मीका भनाइअनुसार, घाइतेहरूले प्रधानमन्त्रीसँग भेटमा आफ्नो बलिदान व्यर्थ नजाओस् भन्दै देशलाई निकास दिन आग्रह गरेका थिए। “आफूले देशका लागि गरेको बलिदान खेर नजाओस्, आगामी पुस्ताले फेरि आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्ने माग उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए,” रेग्मीले बताए।
सो क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
निजामती अस्पतालका तथ्यांकअनुसार गत सोमबारदेखि अहिलेसम्म ४५७ घाइते उपचारका लागि अस्पताल पुगेका छन्। तीमध्ये ४४ जनालाई अन्यत्र रेफर गरिएको छ भने ३६४ जना उपचारपछि घर फर्किएका छन्। अस्पतालमा भर्ना भएका ४९ मध्ये ११ जना अझै उपचाररत छन्।
गम्भीर घाइते एक जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। सोही अवधिमा ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ। अस्पतालमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको समेत कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए।