कोशी अस्पतालमा औषधि बीमा रकम दुरुपयोग: तीन कर्मचारी बर्खास्त

विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन जना करार कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ। स्वास्थ्य बिमा रकम दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ।

बर्खास्त गरिएकामध्ये दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी रहेका छन्। उनीहरूले बिरामीलाई कम औषधि आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी लिने, र बिरामीको नाममा अनावश्यक मात्रामा औषधि देखाउने जस्ता अनियमितता गरेको प्रमाणित भएको छ।

मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि यो घटना बाहिर आएको हो। आकस्मिक कक्षमा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि बिमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि पीडितले अस्पताल प्रशासनमा लिखित उजुरी दिएका थिए।

अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको र अनियमितता पुष्टि भएपछि बर्खास्तीको निर्णय लिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताइन्। उनले भनिन्, “यसअघि पनि मौखिक गुनासो आएका थिए, तर लिखित उजुरीसहित अनुसन्धान गर्दा ठोस प्रमाण भेटिएपछि उनीहरूलाई सेवाबाट हटाइएको हो।”

कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउने गर्छन्, जसमा आधाभन्दा बढी स्वास्थ्य बिमा सदस्य हुन्छन्। आर्थिक वर्ष २०८१/८२ मा तीन लाख १७ हजार ७१८ बिरामीमध्ये एक लाख २३ हजार ९८३ बिरामीले स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका छन्। तीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस र तल्लो पेट दुखाइजस्ता दीर्घरोगका बिरामी बढी रहेका छन्।

मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार हाल युवापुस्तामासमेत मुटुरोग, उच्च रक्तचाप र मस्तिष्कसम्बन्धी समस्या बढ्दै गएको छ। लामो समयसम्म औषधि खानुपर्ने रोगका कारण स्वास्थ्य बिमा सेवामाथि दबाब बढेको उनको भनाइ छ।

स्वास्थ्य सरोकारवालाहरूले बीमित बिरामी र दीर्घरोगीहरूको चाप बढ्दै गएकाले औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।