September 18, 2025
जनकपुरधामवासीद्वारा सहिदप्रति सामूहिक श्रद्धाञ्जली अर्पण
विराटनगर। ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेका युवा तथा सम्पूर्ण व्यक्तिहरुप्रति जनकपुरधामवासीले बुधबार साँझ सामूहिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी मौन धारणमार्फत श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा स्थानीयवासी, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता, मधेश प्रदेशका नेता–सांसद, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै सहिद आत्माको चीरशान्तिको कामना गरेका थिए। जनकपुरधाम घुम्न आएका पर्यटकहरू समेत श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए।
यो पहिलो पटक सम्पूर्ण जनकपुरवासी एकजुट भई यस किसिमको कार्यक्रम आयोजना गरिएको हो।