टुँडिखेलमा संविधान दिवसको मूल समारोह, शीर्ष नेताहरू अनुपस्थित

विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी भए।

तर अघिल्ला वर्षजस्तै अन्य पूर्वप्रधानमन्त्रीहरू भने समारोहमा देखिएनन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरू अनुपस्थित रहे। उनीहरूले आफ्ना पार्टी कार्यालयमै संविधानको रक्षा र कार्यान्वयनप्रति खबरदारी गर्दै संविधान दिवस मनाए।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक विशेष परिस्थितिका कारण यस वर्ष टुँडिखेलको कार्यक्रममा विगतजस्तो सांस्कृतिक झाँकीलगायत आकर्षक प्रस्तुति देखिएन। तर नेपाली सेना र सुरक्षाकर्मी टोलीले ब्याण्डसहितको औपचारिक प्रदर्शन गरेका थिए।

नेपाली जनताको लामो संघर्ष र बलिदानीको परिणामस्वरूप संविधानसभा मार्फत २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो। दोस्रो संविधानसभाले लामो छलफल र विवादपछि तयार पारेको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घोषणा गरेका थिए।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिएका छन्।

Add a Comment