सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
विराटनगर । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औंसी तिथिसँगै समापन हुँदैछ। दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज अपराह्न पितृपक्ष समाप्त गरिँदैछ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म श्राद्ध गर्न सकिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज श्राद्ध गर्न नसकिएको भए आगामी शुक्ल पक्षका पञ्चमीसम्म पनि गर्न सकिने शास्त्रीय मत छ।
धर्मशास्त्रविद्हरूका अनुसार कुनै कारणवश सोह्रश्राद्ध गर्न नसकेमा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाको दिन, वा मङ्सिरसम्म पनि वैकल्पिक रूपमा गर्न सकिने व्यवस्था छ।
यस अवसरमा काठमाडौंको गोकर्णेश्वर, नुवाकोट–रसुवाको बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृश्रद्धा गर्नेहरूको घुइँचो लागेको छ।
पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुनेछ। सोमबार घटस्थापनासहित दशैं औपचारिक रूपमा सुरु हुने जनाइएको छ।