September 22, 2025
बडादसैँ घटस्थापना गरेर सुरु
विराटनगर। हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको पहिलो दिन आज देशभर घटस्थापना गरिएको हो ।
घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी पूजा–पाठसहित जमरा राखिएको छ । नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा, माटो र गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा जौ र मकै रोपेर जमरा उमार्ने परम्परा छ ।
यसै क्रममा राजधानीको हनुमानढोका दरवार स्क्वायरस्थित दशैँ घरमा पनि बिहान ९ः१३ मिनेटको शुभसाइतमा विधिपूर्वक जमरा राखिएको छ ।
बडादसैँका अवसरमा आजदेखि दसैँ घरमा राखिएको जमरा दशमीसम्म पूजाआजा गरिने र दशमीका दिन टीकासँगै सबैलाई लगाइने प्रचलन छ ।