September 25, 2025
शिक्षामन्त्री पुनले हटाए ‘माननीय’ लेखिएको बोर्ड
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको नामफलकबाट ‘माननीय’ शब्द हटाउन निर्देशन दिएका छन्।
मन्त्रालयको ढोकामा राखिने बोर्डमा मन्त्री कार्यकक्षमा रहे–नरहेको वा व्यस्त रहेको जानकारीसहित नाम उल्लेख गर्ने प्रचलन छ। सोही क्रममा कर्मचारीले मन्त्री पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए। तर मन्त्री पुनले उक्त शब्द हटाई केवल नाम मात्र राख्न आदेश दिएका हुन्।
पदभार ग्रहण गर्ने क्रममा पनि उनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए। मन्त्रालयभित्र कर्मचारीले औपचारिक रुपमा मन्त्री भन्न सक्ने भए पनि बाहिर भने कसैले पनि मन्त्री भनेर सम्बोधन नगर्न उनले स्पष्ट अनुरोध गरेका छन्।