नवरात्रको छैटौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजाआराधना

विराटनगर । नवरात्रको छैटौँ दिन आज देशभर स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गरिने भए पनि यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन पूजाआराधना गरिएको हो।

पौराणिक कथाअनुसार स्कन्दमाता पार्वतीको रुप मानिन्छिन्। ऋषि सनतकुमारसँग जोडिएको प्रसंगका कारण पार्वतीलाई ‘स्कन्दमाता’ नामले पुकारिएको उल्लेख छ। स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा बसेकी र दुवै हातमा कमल पुष्प समाएको अवस्थामा चित्रण गरिन्छ।

नवरात्रभर देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। राजधानीसहित देशका विभिन्न शक्तिपीठमा बिहानैदेखि पूजाआराधना एवं दर्शन गर्ने श्रद्धालुहरूको भीड बढेको छ। धार्मिक विश्वासअनुसार देवी स्कन्दमाताको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ।

यसअघि घटस्थापनादेखि पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना सम्पन्न गरिएको थियो। पाँचौँ दिन चतुर्थी तिथि परेकाले कुष्माण्डा देवीलाई नै आराधना गरिएको थियो।

अब सातौँ दिन कात्यायनी, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना हुने धार्मिक परम्परा छ। यही क्रममा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गरी नेपालीले बडादसैँ पर्व मनाउने चलन रहिआएको छ।

Add a Comment