आईसीसीको पूर्ण सदस्यविरुद्ध नेपालले पहिलो ऐतिहासिक जित दर्ता गर्‍यो

विराटनगर। नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा ऐतिहासिक जित हात पारेको छ। १४८ रनको लक्ष्य बचाउ गर्दै नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै आईसीसीको पूर्ण सदस्य (फुल मेम्बर) राष्ट्रविरुद्ध पहिलो जित दर्ता गर्न सफल भएको हो।

नेपालको जितमा सम्पूर्ण खेलाडीले उत्कृष्ट योगदान दिए। विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन निर्णायक रह्यो। उनले ब्याट र फिल्ड दुबैमा शानदार खेल प्रदर्शन गर्दै टीमलाई जित दिलाए। यही योगदानका आधारमा पौडेललाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।

यो जितसँगै नेपाली क्रिकेटले नयाँ अध्याय रचेको छ। वेस्ट इन्डिज जस्तो बलियो टोलीलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमताको प्रष्ट प्रदर्शन गरेको छ। समर्थक र खेलप्रेमीहरूले यसलाई नेपालको क्रिकेट इतिहासकै महत्त्वपूर्ण उपलब्धि मानिरहेका छन्।

Add a Comment