सुनसरी–मोरङमा विशेष अभियान : ठूलो परिमाणमा लागुऔषध बरामद, दुई पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले सुनसरी र मोरङ जिल्लामा सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ भने दुई जनालाई पक्राउ गरिएको छ।

सुनसरीको धरान–४ मा विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्लास्टिकको बोरा भित्र राखिएको २ सय ७५ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको ४७ किलोग्राम गाँजा फेला पारेको छ।
यस्तै, भोक्राहानरसिंह गाउँपालिका–२ मा प्रहरी चौकी भोक्राहाले चेकजाँच गर्ने क्रममा ६ हजार ८६० पत्ता ट्रामाडोल (६८६ स्ट्रिप्स) बरामद गरेको छ।

मोरङतर्फ, विराटनगर–११ मा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई पक्राउ गरेको छ। उनको साथबाट ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका लागुऔषध सम्बन्धित कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

Add a Comment