बिहार निर्वाचनका कारण जोगबनी नाका तीन दिन बन्द हुने

विराटनगर । भारतको बिहार राज्यमा हुने विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै भारत–नेपाल सिमानास्थित जोगबनी नाका तीन दिनका लागि बन्द हुने भएको छ।

अररिया जिल्लाका जिल्ला अधिकारी र प्रहरी अधिकृतले संयुक्त रूपमा जारी गरेको आदेशअनुसार मतदानअघि ७२ घण्टा अर्थात् २०२५ नोभेम्बर ८ (कात्तिक २२) बिहान ६ बजेबाट भारत–नेपाल सीमा बन्द गरिने भएको हो।

यो सीमा बन्दी ११ नोभेम्बर (मंगलबार)मा हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउनका लागि गरिएको जनाइएको छ। आदेशमा आपतकालीन सेवा वा अत्यावश्यक कामका लागि मात्र सीमा पार गर्न अनुमति दिइने उल्लेख छ, त्यो पनि सम्बन्धित निकायको अनुमति र कडाइका साथ जाँचपछि मात्र।

सीमा सिल अवधिभर अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी विधानसभा क्षेत्रहरूमा सुरक्षा निगरानी कडा पारिने भारतीय प्रशासनले जनाएको छ।

यसैबीच, नेपाली प्रशासनलाई समेत उक्त निर्णयबारे जानकारी दिइसकिएको छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुवै देशका नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।