October 12, 2025
दमकमा बेवारिसे अवस्थामा फेला पर्यो जेनजी प्रदर्शनका क्रममा लुटिएको ३०३ राइफल
विराटनगर। झापा जिल्लाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ।
स्थानीयवासीले आज बिहान बन्दुक देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर सो हतियार बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको राइफल गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि भएको छ। उक्त राइफल म्यागजिनसहित भेटिएको प्रहरीले जनाएको छ।
डीएसपी खड्काले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हतियारलाई हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको जानकारी दिए।