सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ६५ किलो गाँजा बरामद
विराटनगर । प्रहरीले सिरहाका विभिन्न स्थानमा छापा मार्दै लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिर नजिकैबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकललाई रोकी तलासी लिँदा सवार दुई जनाको साथमा खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७.५४ ग्राम र शुद्ध रूपमा १५ ग्राम रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ। उनीहरू सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिए।
त्यसैगरी सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूहलाई देखेपछि नियन्त्रणको प्रयास गरेको थियो। प्रहरी देख्नेबित्तिकै उनीहरूले झोला फालेर भागेका थिए।
घटनास्थलमा छोडिएको झोलाबाट ६४.९ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र बाँकी फरार व्यक्तिहरूको खोजी जारी रहेको डीएसपी पालले बताए।
प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कानूनी कारबाही अघि बढाइएको छ।