देशभर वर्षा र हिमपातको सम्भावना, ४४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

बिराटनगर। देशका विभिन्न स्थानमा आज र भोलि (कार्तिक १४ र १५ गते) भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना छ । त्यस्तै, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले जनतालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले ४४ जिल्लामा उच्च सतर्कता र १० जिल्लामा निरन्तर मौसमबारे अद्यावधिक जानकारी लिएर बस्न सुझाव दिएको छ ।

सर्तक रहनुपर्ने जिल्लाहरूमा —
कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा,
मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही,
वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवा,
गण्डकी प्रदेशका गोरखा, नवलपरासी (पूर्व), मनाङ, मुस्ताङ,
र लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङ रहेका छन् ।

यस्तै, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई पनि मौसमसम्बन्धी जानकारीसहित सचेत रहन आग्रह गरिएको छ ।

प्राधिकरणले सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटनलगायत क्षेत्रमा असर पर्न सक्ने बताउँदै आवश्यक पूर्वतयारी र पूर्वकार्य गर्न निर्देशन दिएको छ ।

“अत्यावश्यक नभए यात्रा नगर्न, डुबान हुनसक्ने स्थानका बासिन्दाले सुरक्षित ठाउँको जानकारी लिन र जोखिम बढेमा सुरक्षित स्थानमा जानु आवश्यक छ,” प्राधिकरणले जनाएको छ ।

त्यस्तै, नदी किनारका बासिन्दालाई सतर्क रहन, खेतमा पाकेका बालीहरू तुरुन्तै भित्र्याउन र विपद् व्यवस्थापन समितिहरूले आवश्यक सवारी आवागमनबारे निर्णय गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला सबै निकायलाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।