सप्तरीमा झाडापखालापीडित बचुन सदालाई सहयोग रकम हस्तान्तरण

बिराटनगर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर टोलकी झाडापखालापीडित बचुन सदालाई २६ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

सहयोग रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्ताका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले कार्तिक २० गते हस्तान्तरण गरेका हुन्।

सहयोग रकम दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४, भेड्पु निवासी रोज गोलेको समन्वयमा सोही ठाउँका शहरे निवासी एस चाइनीज किचनका प्रबन्धक तथा समाजसेवी साङ्यो योन्जन र उनकी श्रीमती निमा मोक्तानले उपलब्ध गराएका हुन्।

योन्जन दम्पतीले यसअघि पनि विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयमा निजी शिक्षक र विद्यार्थीहरूको खाजाका लागि भाँडावर्तनको व्यवस्था जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएका छन्।

बचुन सदा झाडापखालाबाट करिब दुई हप्तादेखि पीडित थिइन्। उक्त रोगकै कारण उनका ६६ वर्षीय बुवा, चार वर्षकी छोरी र एक वर्षका छोराको दुःखद निधन भएको थियो।

सहयोगी पक्षले यस घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप सहयोगका लागि समाजका सबैलाई आह्वान गरेका छन्।

Add a Comment