जेनजी आन्दोलनका मृतक र घाइतेलाई १२ करोड ८० लाख सहयोग

विराटनगर । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवार र घाइतेलाई आर्थिक सहायता प्रदान गरेको छ। अर्थ मन्त्रालयका अनुसार मृतकका परिवार र घाइतेहरूलाई गरी कुल १२ करोड ८० लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जना गरी ७६ जनाको मृत्यु भएको थियो।

मृतकका परिवारलाई आर्थिक सहायता, काजकिरिया, खाना तथा यातायात खर्चका लागि ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले जम्मा सात करोड ९५ लाख रुपैयाँ निकासा गरिएको छ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकामध्ये दुई हजार ४२९ जनालाई तत्काल भैपरी खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले जम्मा चार करोड ८५ लाख ८० हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार यो सहायता रकम सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ।

Add a Comment