जनकपुरधाममा मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड, सातदलीय गठबन्धनको विरोध प्रदर्शन

बिराटनगर । जनकपुरधामस्थित मधेस भवनभित्र रहेको मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि आज तोडफोड भएको छ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई एकलौटी ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै सातदलीय गठबन्धनका सांसद र कार्यकर्ताहरू आक्रोशित बनेका हुन्। जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, जनमत पार्टीलगायत दलका नेता तथा कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गर्दै तोडफोड गरेका छन्।

उनीहरूले प्रदेश प्रमुखको नाम लेखिएको नेमप्लेट, गमला र प्रवेशद्वार बाहिरका सजावटी सामग्रीहरू तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले ‘प्रदेश प्रमुख मुर्दाबाद’, ‘एकलौटी निर्णय खारेज गर’ जस्ता नारासमेत लगाएका थिए।

घटनापछि मधेस भवन परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। बाहिर भने सातदलीय गठबन्धनका कार्यकर्ताहरूले टायर बालेर विरोध प्रदर्शन जारी राखेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले कडा निगरानी राखेका छन्।

Add a Comment