देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षाको सम्भावना
विराटनगर । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले सबै प्रदेशमा साधारणतया वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने देखिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।