बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
विराटनगर । बलिउडका महान अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय धर्मेन्द्रलाई सोमबार श्वासप्रश्वासमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्।
डाक्टरका अनुसार, अस्पतालमा भर्ना भएको पछिल्लो ७२ घण्टा धर्मेन्द्रका लागि अत्यन्तै निर्णायक थियो। देओल परिवारका नजिकका स्रोतका अनुसार उनकी छोरीहरू विदेशबाट हतार–हतार मुम्बई फर्किएका थिए। जेठा छोरा सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक मुद्रामा देखिएका थिए भने बबी देओलले फिल्म अल्फा को छायांकन बीचमै छोडेर मुम्बई फर्किएका छन्।
धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि बलिउडका थुप्रै कलाकारहरू पनि अस्पताल पुगेका थिए। शाहरुख खान, सलमान खान, अजय देवगन, अमिताभ बच्चनलगायतका कलाकारले उनलाई अन्तिम भेट दिएका थिए।
धर्मेन्द्रले आफ्नो लामो करिअरमा शोले, चुपके चुपके, सित्तम, अनुपमा, यादों की बारात लगायत सयौं सफल चलचित्रमा अभिनय गरेका थिए। उनी भारतीय सिनेमाका सबैभन्दा करिश्माई र लोकप्रिय अभिनेतामध्ये एक मानिन्छन्।
उनको निधनले बलिउड मात्र होइन, सम्पूर्ण भारतीय दर्शक जगत शोकाकुल बनेको छ। अन्त्येष्टि सम्बन्धी विवरण परिवारले केही समयपछि सार्वजनिक गर्ने बताइएको छ।
