किडजी स्कुल विराटनगरको १०औँ वार्षिकोत्सव तथा ग्राजुएसन कार्यक्रम सम्पन्न
विराटनगर । विराटनगरस्थित किडजी स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव तथा ग्राजुएसन सेलिब्रेसन भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका वन तथा वातावरण मन्त्री भिम पराजुलीले दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पराजुलीले किडजी स्कुलले विराटनगरमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले नेपालीहरू विदेश पलायन हुन बाध्य भइरहेको वर्तमान अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
यस अवसरमा उनले विद्यालयलाई वार्षिकोत्सवको बधाई दिँदै सफल आयोजनाका लागि धन्यवाद पनि व्यक्त गरे।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, कराँते प्रदर्शन तथा नाटक प्रस्तुत गरेका थिए, जसले उपस्थित अतिथि तथा अभिभावकहरूलाई आकर्षित गरेको थियो।
सोही अवसरमा सिनियर केजीका विद्यार्थीहरूको ग्राजुएसन सेलिब्रेसन पनि सम्पन्न गरिएको थियो।
विद्यार्थीहरूले विभिन्न विषयमा मन्तव्य (स्पीच) प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा प्याब्सन बिराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, DAV स्कुलका प्रिन्सिपल रमेश कुमार मिश्र , अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो।

