खोलाले बगाएर एक जना वृद्धको मृत्यु

सन्धिखर्क। अर्घाखाँचीको छत्रदेवमा खोलाले बगाएर एक जना वृद्धको मृत्यु भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको स्थानीय बेङ्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी पालीको टोलीले पाणिनी गाउँपालिका वडा नम्बर ८ मा रहेको धोबीघाट खोलामा शव बगीरहेको अवस्थामा फेला पारेको थियो।

घर्तीको शव पोष्टमार्टम गरेपछि परिवारलाई जिम्मा लगाएको र सोही घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।