सुन्धारामा मोटरसाइकल चालकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारीबाट हटाइए
विराटनगर / काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धारास्थित आकाशे पुलमुनि एक मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले गरेको कुटपिट घटनामा संलग्न चार जना प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ। गत मंसिर २३ गते भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक दबाब तीव्र बनेको थियो।
भिडियोमा देखिएको घटनाबारे प्रारम्भिक अनुसन्धानपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले ती चार जना ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तबाट हटाएर कार्यालयमै झिकाइएको जानकारी दिएको हो।
“प्रारम्भिक अनुसन्धानअनुसार २०८१ मंसिर २३ मा सो घटना सुन्धारा आकाशे पुलमुनि भएको पुष्टि भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।”
उक्त घटनापछि ट्राफिक प्रहरीको व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। नागरिक समाज, मानव अधिकारकर्मीहरू तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गर्दै दोषी प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
यस प्रकरणले ट्राफिक प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाइरहेको छ भने प्रहरी प्रशासनले यस्ता घटना दोहोरिन नदिन कडाइका साथ नीति कार्यान्वयन गर्ने बताएको छ।