मोरङका कृषक मकै भित्र्याउन व्यस्त, मजदुर अभावले समस्या

रबिन्द्र बराल

विराटनगर/मोरङ जिल्लाको दक्षिणी क्षेत्रका रंगेली, सुनवर्षि, रतुवामाई, धनपालथान लगायतका क्षेत्रमा कृषकहरू अहिले मकै भित्र्याउन व्यस्त छन्।

अन्य बालीको तुलनामा मकै खेतीले राम्रो आम्दानी दिन थालेपछि किसानहरू मकैतर्फ आकर्षित हुन थालेका हुन्। बलौटे माटोमा समेत उत्पादन हुन थालेपछि अघिसम्म बाँझो देखिने खेतहरू अहिले हरियाली र भरिभराउ देखिन थालेका छन्।

फागुन महिनामा रोपिएको मकै जेठ महिनामा टिप्ने गरिन्छ। स्थानीय किसान बैजनाथ मण्डलका अनुसार मकैखेतीमा मेहनत र खर्च धेरै लागे पनि आम्दानी राम्रो हुने भएकाले यसप्रति आकर्षण बढेको छ।

यद्यपि, स्थानीय सरकारले कृषकका समस्याप्रति बेवास्ता गर्दै आएको गुनासो किसानहरूबाट आएको छ। “न अनुदान पायौं, न मल समयमा उपलब्ध हुन्छ,” भनी कृषक पप्पु कुमार साहले दुःख व्यक्त गरे। १२ बिघामा मकै खेती गरेका साह अहिले मजदुर नपाएर मकै खेतमै राख्नुपर्ने बाध्यतामा छन्।

हाल व्यापारीहरूले काँचो मकै प्रति कुइन्टल १,००० रुपैयाँ र सुक्खा मकै प्रति कुइन्टल ३,२०० रुपैयाँमा खरिद गरिरहेका छन्।

किसानहरूका अनुसार एक बिघा मकै खेतमा बीउ, मलखाद, सिँचाइ, गोडमेल, र ढुवानीसम्म झण्डै ७० हजार रुपैयाँ खर्च हुने गरेको छ।

मजदुर अभावका बीच, केही स्थानमा मजदुरहरू बिहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म टन्टलापुर घाममा काम गर्दै ५०० रुपैयाँ र एक छाक खानामा मकै टिप्दै छन्। उनीहरूले आफूहरूको ज्याला बढाइनुपर्ने माग समेत गरेका छन्।

मकै भित्र्याउने चटारोका बीच किसानहरूलाई सरकारी सहयोगको अभाव, मजदुरको कमी, र लागतको बढ्दो भारले थप चिन्तित बनाएको देखिन्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *