ब्रेनवे मार्केटिङको स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान विराटनगरमा सम्पन्न
विराटनगर/ ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंद्वारा सञ्चालित स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान विराटनगरमा विशेष कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीले उत्पादन गरेका होमकेयर, पर्सनलकेयर र हेल्थकेयर सामग्रीलाई उपभोक्तामार्फत उपभोक्तासम्म पुर्याउने अवधारणामा आधारित यो अभियानले स्वरोजगार सिर्जना र आत्मनिर्भरतालाई प्रोत्साहन गरिरहेको छ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अभियानमा उल्लेखनीय योगदान गर्ने सहभागीहरूलाई पुरस्कार प्रदान गरियो। पुरस्कृत हुनेमध्ये विराटनगर–८ की मुना कोइरालाले माइक्रोओभन, शुशिल चौधरीले वासिङ मेसिन जितेका छन्।
कम्पनीका चिफ अपरेशनल अफिसर (COO) दिनेश कार्कीले ब्रेनवेले स्वदेशी उत्पादनलाई बिचौलिया बिना सोझै उपभोक्तासम्म पुर्याउने मोडलमा काम गरिरहेको जानकारी दिए। “हाम्रो उत्पादन उपभोक्ताले नै अर्को उपभोक्तासम्म पुर्याउने व्यवस्था भएकोले बजार विस्तार द्रुत गतिमा भइरहेको छ,” उनले भने, “यसप्रकारको मार्केटिङमा डिलर, सब–डिलर वा बिचौलियालाई जानुपर्ने ४२ प्रतिशतसम्मको कमिशन हामी हरेक हप्ता सोमबार उपभोक्तालाई नै प्रदान गर्दै आएका छौं।”
कार्कीका अनुसार, उपभोक्ता आफैं बिक्री प्रक्रियामा सहभागी भई अर्को ग्राहक खोज्ने र उत्पादित सामग्री बिक्री गर्दा नियमित रूपमा कमिशन प्राप्त गर्दै आएका छन्।
ब्रेनवे मार्केटिङको यस अभियानले नेपाली बजारमा स्वदेशी उत्पादनप्रति विश्वास बढाउनुका साथै स्वरोजगारका लागि नयाँ अवसरहरू सिर्जना गरेको बताइएको छ।