विराटनगरमा स्पिटिङ कोब्रा फेला, उद्धारकर्तामाथि विषको प्रहार

विराटनगर । विराटनगरमा विष फाल्ने खतरनाक प्रजातिको सर्प स्पिटिङ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका–४ मा अवस्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो ।

उक्त सर्पलाई मंगलबार अपराह्न नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय, मोरङमा पठाइएको महानगरपालिकाले जनाएको छ । उद्धारको क्रममा सर्पले विष फाल्दा उद्धारकर्ताको शरीरमा विष लागेको बताइएको छ ।

उद्धारकर्ताका रूपमा खटिएका विराटनगर महानगरपालिकाका शम्भु घिमिरेको शरीरमा विष परेपछि उनी हाल कोसी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्य निगरानीमा रहेका छन् । चिकित्सकका अनुसार यस्तो सर्पको विष अनुहार वा आँखामा परे गम्भीर असर गर्न सक्ने खतरा रहन्छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाले यस्ता खतरनाक सर्प अन्य स्थानहरूमा पनि फेला पर्न सक्ने भन्दै सतर्क रहन र तत्काल जानकारी दिन आग्रह गरेको छ ।

महाशाखाका अनुसार गर्मी मौसममा तराई–मधेस क्षेत्रमा सर्पदंशको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *