कोशी प्रदेशबाट १० महिनामा १ लाख ६० हजारले लिए श्रम स्वीकृति, ३ वर्षमा ७७४ को मृत्यु

विराटनगर। पछिल्ला १० महिनामा कोशी प्रदेशबाट वैदेशिक रोजगारीका लागि १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म यस्तो संख्या श्रम विभागमा दर्ता भएको हो।

राउतका अनुसार मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी र सामाजिक-आर्थिक बाध्यताका कारण युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्। हालसम्म नेपालबाट ८२ लाखभन्दा बढीले श्रम स्वीकृति लिई विदेशिएको तथ्याङ्क छ। वैदेशिक रोजगार विभागका अनुसार दैनिक सरदर २ हजारभन्दा बढी नेपाली विदेशिने गरेका छन्।

कोशी प्रदेशबाट मात्रै कुल वैदेशिक रोजगार जानेको झण्डै २१.८२ प्रतिशत योगदान रहेको संयोजक राउतले बताए। मोरङ जिल्लाबाट गत आर्थिक वर्षमा मात्रै ३१ हजार ९७ जनाले श्रम स्वीकृति लिएका थिए, जसमा पुरुष २६ हजार ५८८ र महिला ४ हजार ५०९ जना रहेका छन्। चालु आर्थिक वर्षमा हालसम्म मोरङबाट २७ हजार ५४० जनाले श्रम स्वीकृति लिएको पनि उनले जानकारी दिए।

यसैबीच, वैदेशिक रोजगारीमा गएकामध्ये कोशी प्रदेशका ७७४ जनाको पछिल्लो तीन वर्षमा मृत्यु भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा २९६ जना, २०८०/८१ मा ३२३ जना र २०८१/८२ को पुस महिनासम्म १५५ जनाको मृत्यु भएको छ।

राउतले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन प्रणालीको विकास आवश्यक रहेको भन्दै यसतर्फ राज्यको चासो आवश्यक रहेको उल्लेख गरे।