दमकमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

विराटनगर। झापाको दमक नगरपालिका–७, पशुहाट डाँडा स्थित पूर्व–पश्चिम लोकमार्गमा मंगलबार राति भएको एक सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको ज्यान गएको छ।

प्रहरीका अनुसार दुर्घटना जेठ २१ गते राति भएको हो। मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दमक–४ निवासी ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए।

थापालाई तत्कालै उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटनामा संलग्न बस र बस चालक गौरादह नगरपालिका–४ निवासी ३२ वर्षीय सरकार टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।