देशको होइन, आफ्नै क्षेत्रको मात्रै प्रधानमन्त्री हुने प्रवृत्ति : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए।

यसले कतिपय सांसदहरुले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको उनको भनाइ थियो। उनले राजनीतिक स्थिरता नभइकन विकास सम्भव नहुने उल्लेख गरे। पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।
उनले भने, ‘हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ। आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ। सबै श्रोत, साधन त्यहीँ पुर्‍याउँछ। त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ।

कतिपय सांसद त घरको न घाटको हुन्छन्। अर्को पटक जनताले भोट पनि हाल्दैनन्।’