असार १५ देखि चितवन निकुञ्जमा जिप सफारी बन्द

विराटनगर । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी सेवा बन्द हुने भएको छ।

निकुञ्ज प्रशासनका अनुसार हरेक वर्षझैं यस वर्ष पनि असार १५ बाट करिब तीन महिनासम्म जिप सफारी बन्द गरिनेछ। गत वर्ष असार १६ गतेदेखि बन्द गरिएको जिप सफारी असोज २४ गते फूलपातीका दिनबाट मात्र पुनः सञ्चालनमा आएको थियो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा बाढी, पहिरो, खोला खोल्सामा पानीको बहाव बढ्ने, रुख ढल्ने तथा बाटो चिप्लो हुनेजस्ता कारणले जिप सफारी सेवा रोकिँदै आएको हो। “बर्खामा घाँस बढ्ने, बाटो बिग्रने तथा जंगली जनावरहरू पनि कम देखिने भएकाले हरेक वर्ष यो समयमा सफारी बन्द गरिन्छ,” उनले जानकारी दिए।

निकुञ्जका अनुसार बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै तथा वर्षात लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी खुला गरिन्छ। बर्खाले बिगारेका सडक मर्मत, ढलेका रुख पन्छाउने तथा विभिन्न पुलहरूको मर्मत सकिएपछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइनेछ।

गत वर्ष पनि असोजमा आएको बाढीका कारण जिप सफारी सञ्चालन गर्न समय लागेको थियो।

निकुञ्जले पर्यटक तथा सरोकारवालाहरुलाई जिप सफारी बन्द हुनेबारे समयमै जानकारी गराउँदै आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

Add a Comment