नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) को ब्राण्ड एम्बेसेडर नियुक्त
विराटनगर। नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीलाई नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको छ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपीएलले उप्रेतीलाई ब्राण्ड एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
दशकौँ लामो समयदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहँदै आएका सुपरस्टार उप्रेती पर्दामा आफ्नो दमदार संवाद र एक्सनका लागि चर्चित छन् भने पर्दाबाहिर आफ्नो बौद्धिकता र व्यक्तित्वका कारण लोकप्रियता कमाएका कलाकार हुन्।
ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउँदा आफू अत्यन्त खुसी र गर्वित भएको प्रतिक्रिया उनले दिएका छन्। उप्रेतीले क्रिकेटजस्तो जनप्रिय खेलको प्रवर्द्धनमा भूमिका खेल्न पाउनु आफ्नो लागि विशेष अवसर भएको उल्लेख गर्दै, एनएसपीएलले सम्पूर्ण क्रिकेट विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले उप्रेतीलाई स्वागत गर्दै उनको सहभागिताले लिगलाई थप ऊर्जा र पहिचान दिने विश्वास व्यक्त गरे।
नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) आगामी असोज महिनामा आयोजना हुने तय भएको छ। आयोजकले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने तयारी गरिरहेको जनाएको छ।