गोल्डेन हस्पिटलको नयाँ पहल: सबै शल्यक्रियामा ५० प्रतिशतसम्म छुट, गरिब बिरामीलाई राहत

विराटनगर। विराटनगरस्थित गोल्डेन हस्पिटलले सबै किसिमका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था लागू गर्दै, निजी क्षेत्रको अस्पतालमध्ये पहिलोपटक यस्तो सुविधा प्रदान गरेको छ। यस कदमले विशेषगरी आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै आएका निम्न आयस्तरका बिरामीलाई ठूलो राहत मिलेको छ।

गोल्डेन हस्पिटलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले अस्पतालले सबै प्रकारका शल्यक्रियालाई प्याकेज प्रणालीमा राखेर सस्तो दरमा सेवा दिइरहेको जानकारी दिए। सम्मेलनमा बोर्ड अफ डाइरेक्टर सनातन मण्डल पनि उपस्थित थिए।

डा. रौनियारका अनुसार औषधि सिधै उत्पादक कम्पनीबाट खरिद गर्ने रणनीति अपनाएकाले शल्यक्रिया खर्चमा उल्लेखनीय कमी आएको हो। सामान्यतया एक शल्यक्रियामा लाग्ने औषधिको लागत मात्र १० देखि २० हजार रुपैयाँसम्म पर्न सक्ने भए तापनि औषधिमा समेत ५० प्रतिशत छुट दिइएको छ।

गोल्डेन हस्पिटलको अर्को विशेषता भनेको बिरामीलाई लामो समय पर्खन नपर्ने व्यवस्था हो। “विराटनगरका ठूला अस्पतालमा शल्यक्रियाका लागि एक महिनासम्मको समय लाग्ने गरे पनि हामीकहाँ ३ दिनमै सम्पन्न हुन्छ,” डा. रौनियारले दाबी गरे।

हस्पिटलमा फुलटाइम काम गर्ने दक्ष विशेषज्ञको टोली रहेको बताउँदै, उनले शल्यक्रियाका लागि भर्ना भएका बिरामी प्रायः ३ दिनमै उपचार गराएर घर फर्किरहेको जानकारी दिए।

सस्तो दरमा प्रमुख शल्यक्रियाहरू

गोल्डेन हस्पिटलले प्रस्तुत गरेका शल्यक्रियाका प्याकेज दर यसप्रकार छन्:

हाइड्रोशील शल्यक्रिया – २०,००० रुपैयाँ

अपेंडिक्स – २०,००० रुपैयाँ

पाठेघर शल्यक्रिया – २५,००० रुपैयाँ

सिजेरियन डेलिभरी – १५,००० रुपैयाँ

सामान्य डेलिभरी – ५,००० रुपैयाँ

अनुहार शल्यक्रिया – ३५,००० रुपैयाँ

कानको जाली शल्यक्रिया – २५,००० रुपैयाँ

पिसाब नलीको पथरी – २५,००० रुपैयाँ

टनशील – ३०,००० रुपैयाँ

नाक सिध्याउने शल्यक्रिया – ३०,००० रुपैयाँ

किड्नी पथरी – ३५,००० रुपैयाँ

पित्तथैली पथरी – ४०,००० रुपैयाँ

यस प्रकारको छुट व्यवस्था र छिटो सेवा प्रवाहले प्रदेश नं. १ तथा आसपासका जिल्लाका जनताले सहज, सुलभ र गुणस्तरीय उपचार पाउने विश्वास लिएको डा. रौनियारले बताए। “हाम्रो लक्ष्य उपचारमा पहुँच सबैलाई पुगोस् भन्ने हो,” उनले भने।

गोल्डेन हस्पिटलको यो नयाँ पहलले निजी क्षेत्रबाट जनउत्तरदायी सेवा प्रवाहको उदाहरण पेश गरेको भन्दै सर्वसाधारण र स्वास्थ्य क्षेत्रका विज्ञहरूले प्रशंसा गरेका छन्।