पाकिस्तानमा भीषण वर्षाले २४ घन्टामै ६३ को ज्यान गयो, आपतकाल घोषणा

विराटनगर। पाकिस्तानमा लगातार परेको भीषण वर्षाले जनजीवन प्रभावित बनाइरहेका बेला पछिल्ला २४ घण्टामा मात्र ६३ जनाको मृत्यु भएको छ।
पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको अविरल वर्षापछि आएको बाढी र भूस्खलनका घटनामा ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले जनाएको छ।

प्राधिकरणका अनुसार अधिकांश मृत्युहरू घर भत्किँदा थिचिएर भएका हुन् भने केही डुबेर र करेन्ट लागेर ज्यान गुमाएका छन्। घटनाहरूमा परी २९० जना घाइते भएका छन्।

राजधानी इस्लामाबाद नजिकैको रावलपिण्डी सहरमा बाढीको खतरा बढेपछि बिहीबार सार्वजनिक बिदा दिइएको थियो। नदीको पानी खतरा तह पार गरेपछि नदी किनारका बासिन्दाहरूलाई दिउँसै सुरक्षित स्थानमा सारिएको हो।

पञ्जाब प्रान्तभरि आपतकाल घोषणा गर्दै मुख्यमन्त्री मरियम नवाजले उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिन निर्देशन दिएकी छन्।

पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि हालसम्म करिब १८० जनाको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो बालबालिका छन्।

पञ्जाबका विभिन्न क्षेत्रमा परेको बाढीका कारण एक्सप्रेस–वे बन्द गरिएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिला भएका छन्।

चकवाल सहरमा मात्र २४ घण्टामा ४०० मिमि वर्षा भएको र स्थिति अत्यन्त गम्भीर रहेको जनाइएको छ। उद्धारकर्ताहरू डुंगा र हेलिकप्टरको माध्यमबाट बाढीमा फसेकाहरूको उद्धारमा खटिएका छन्।

करीब २५ करोड जनसंख्या भएको पाकिस्तानलाई जलवायु परिवर्तनले गम्भीर रूपमा असर पारिरहेको छ।
सन् २०२२ मा आएको विनाशकारी बाढीले देशको एक तिहाइ भू–भाग डुबाएको थियो। त्यस बाढीमा १,७०० जनाको मृत्यु र ३० अर्ब डलरभन्दा बढीको क्षति भएको थियो।

Add a Comment