मोरङका ४ पत्रकारलाई ‘विकल्प’द्वारा लेखनबृत्ति वितरण

विराटनगर । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) प्रदान गरेको छ । विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा प्रत्येक पत्रकारलाई ५०–५० हजार रुपैयाँको दरले फेलोसिप वितरण गरेको हो ।

फेलोसिप प्राप्त गर्नेहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खबरका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहेका छन् । विकल्पले खुला आवेदन आह्वान गरेर छनोट प्रक्रियामार्फत उनीहरूलाई फेलोसिप प्रदान गरेको हो ।

कार्यक्रममा विकल्पका अध्यक्ष प्रा.डा. भेषप्रसाद धमलाले पत्रकारहरू समाजका विकृति र विसङ्गतिविरुद्धका अभियन्ता भएकाले आफ्नो पेशामा सदैव गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारको कलमले समाजमा सकारात्मक वा नकारात्मक धारणा निर्माण गर्ने भएकाले यसको जिम्मेवारी ठुलो हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले पत्रकारिता पेशामा श्रमजीवी पत्रकारलाई सशक्त बनाउन फेलोसिप महत्त्वपूर्ण योगदान हुने भन्दै विकल्पको प्रशंसा गर्नुभयो । उहाँले महासंघले आगामी दिनमा पनि विकल्पसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रमा थप काम गर्ने आशा व्यक्त गर्नुभयो ।

विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले संस्था विगत १० वर्षदेखि जीविकोपार्जन, स्वतन्त्रता र अधिकार सुनिश्चितताका लागि काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले फेलोसिप पत्रकारलाई अझ जिम्मेवार र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष सुशीला पाठक, कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सो अवसरमा फेलोसिप प्राप्त पत्रकारहरूले आफूले गरेको कामबारे प्रस्तुति दिएका थिए । विकल्पकी कार्यक्रम संयोजक रानु साहका अनुसार गत चैतमा मोरङ र सुनसरीका करिब ६० पत्रकारलाई खोज पत्रकारितामा नयाँ प्रविधिको प्रयोगसम्बन्धी क्षमता विकास तालिम दिइएको थियो । सोही तालिममा सहभागी भएका मध्येबाट आवेदनका आधारमा ४ जनालाई फेलोसिप प्रदान गरिएको हो ।