धादिङ, बागलुङ र गुल्मीका सडक अवरुद्ध: पहिरो र बाढीका कारण यातायात संकट
विराटनगर। धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो खस्दा काठमाडौं प्रवेश गर्ने प्रमुख मार्ग पृथ्वीराजमार्ग शुक्रबार बिहानदेखि दुईतर्फी अवरुद्ध बनेको छ। रूखसहितको पहिरो खसेपछि सडक खण्डमा यातायात रोकिएको हो। धादिङ प्रहरीले पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिए पनि सडक सुचारु हुन सकेको छैन।
पहिरोका कारण काठमाडौंतर्फ जाने सवारीसाधन गजुरी क्षेत्रमा र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्। प्रहरीका अनुसार लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले चालक र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। अवरुद्ध सडकका कारण यात्रुहरूमा समस्या देखिएको छ।
यस्तै, बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पोखरा, काठमाडौं लगायतका क्षेत्रतर्फ जाने सवारी साधनहरू रोकिएका छन्। निरन्तर वर्षा भएकाले सडक खुलाउन कठिनाइ भइरहेको छ।
गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि अवरुद्ध छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा आएको बाढीले आज बिहानदेखि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सडक अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारी साधन रोकिएका छन्। प्रहरी टोली जोहाङ्ग खैरेनीबाट परिचालित भए पनि वर्षा जारी रहेकाले सडक सञ्चालनमा समस्या देखिएको छ।
यस अवस्थाले प्रभावित क्षेत्रका जनजीवन र यातायातमा व्यापक समस्या सिर्जना भएको छ। प्रहरीले चालक र यात्रुलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।