सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

विराटनगर । सुनसरी कारागारको पर्खाल नाघी फरार भएका एक कैदी झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।

जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई आज बिहान बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई विराटपोखर क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सुनसरी जिल्ला अदालतले पौडेललाई जबर्जस्ती करणी मुद्दामा १३ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना तथा ३० हजार क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो। उनी सो सजाय भोगिरहेका बेला कारागारबाट फरार भएका थिए।

पक्राउ परेका पौडेललाई आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Add a Comment