झापामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
विराटनगर । झापामा शुक्रबार बिहान दुई अलग–अलग घटनामा दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट अर्का एकजनाको मृत्यु भएको हो।
कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै ज्यान गुमाएका हुन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका ८८ वर्षीय टीकाराम श्रेष्ठलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव अहिले अस्पतालमै राखिएको छ भने मोटरसाइकल चालक ५१ वर्षीय मानकुमार सुवेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।