August 25, 2025
रतुवामाईमा आगलागी, तीन पसल जलेर नष्ट
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–६ सौठा चोकमा सोमबार बिहान आगलागी हुँदा तीन वटा पसल जलेर पूर्णरुपमा नष्ट भएका छन्।
बिहान करिब ६ बजे खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।
आगलागीबाट स्थानीय टिका खनालले सञ्चालन गरेको चिया पसल तथा सूर्यमान श्रेष्ठले सञ्चालन गर्दै आएको चस्मा र किराना पसल जलेर पूर्ण क्षति भएको हो। यी पसलहरू टेकमान लिम्बूको जग्गामा भाडामा सञ्चालन हुँदै आएका थिए।
मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
स्थानीयका अनुसार आगलागीबाट करिब १५ देखि २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।